images
images

प्रेम, पर्व र सांस्कृतिक प्रभाव

काठमाडौं, फागुन २ (अनलाईन बहस)
प्रेमको कुनै भाषा, आकार, उमेर, भूगोल हुँदैन । प्रेम गर्न कुनै खास प्रसङ्गबाट सिक्न पनि पर्दैन, वास्तविक प्रेम मस्तिष्कमा जन्मन्छ र मनबाट व्यक्त हुन्छ । हामीले सुन्दै र बुझ्दै आएका कुरा यिनै हुन् । प्रेम कुनै तिथिमिति जुराएर गर्ने विषय पनि होइन । यो विभिन्न प्रकारले भइरहेको हुन्छ । प्रेम गर्नु नराम्रो काम वा विषय पनि होइन । प्रेमको क्षेत्र, व्यक्ति, पात्रको पनि कुनै सीमा हुँदैन । प्रेमी-प्रेमिका बिचमा मात्र पनि प्रेम सीमित हुँदैन । मातृ(आमाप्रति) प्रेम, पितृ(बुवाप्रति) प्रेम, भातृप्रेम-वन्धुप्रेम, दिदीबहिनीप्रति प्रेम, राष्ट्र प्रेम, देश प्रेम आदि अनेकौँ क्षेत्र छन् । प्रेम गर्ने होइन, प्रेम हुने हो, प्रेम प्रदर्शन भने हुन सक्दछ । यसलाई प्रेमको अभिव्यक्ति भन्न सकिन्छ । एउटा हिन्दी गीत प्रसिद्ध छ नि, ‘प्यार किया नहीं जाता, हो जाता है !’
पछिल्लो समय फेब्रुअरी १४ तारेखलाई प्रेम दिवस, प्रणय दिवस आदि भनिदैआएको देखिन्छ । यो प्रेम वा प्रणय दिवसलाई अङ्ग्रेजी भाषीहरूले Love Day-लभ डे भन्दैनन् । यो सार्वभौम वा मौलिक प्रेम दिवस होइन, यो एउटा पे्रमिल जोडीको प्रेममा भएको बलिदानसँग सम्बन्धित हो । एउटा इतिहास र संस्कृतिका अनुयायीहरू आजको दिनलाई Valentine's Day भन्दछन् । यो क्याथोलिक समुदायको पर्व हो । अङ्ग्रेजी भाषामा भनिएबाट र प्रेम भन्ने शब्दसँग नजोडिएको यो दिन कसरी प्रेम दिवस वा प्रणय दिवस हुन सक्छ त ?  
इतिहास, गुगल, विकिपिडिया आदि स्रोतका अनुसार यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा उमेरका मानिसहरू प्रेम र विवाहतिर लागे भने सैनिक सेवा प्रभावित हुन्छ भन्ने आधारमा युवायुवती बिचको प्रेम सम्बन्धमाथि प्रतिबन्ध लगाएका थिए । तर पादरी भ्यालेन्टाइन भने सम्राट्को यस्तो निर्णयलाई धर्म विरुद्ध मान्दथे । उनी आफू  पनि प्रेम सम्बन्धमा थिए भनिन्छ । त्यसैले उनले सम्राटको घोषणाको अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरेका थिए । यसरी आदेश पालना नगरेर निषेधाज्ञा तोडेको आरोपमा उनलाई सम्राटले मृत्युदण्ड दिएको थियो । त्यो दिन ईस्वी सन् सुरू हुनुभन्दा २७० वर्षअघि फेब्रुअरी १४ तारेख थियो । उनै पादरी भ्यालेन्टाइनको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । तर, यसलाई प्रेम दिवास, प्रणय दिवस अर्थ लाग्ने लभ डे आदि भनिएको पनि छैन । एउटा निश्चित धार्मिक सम्प्रदायका लागि त्यस धर्मको अगुवा व्यक्तित्वको बलिदान सम्झनयोग्य दिन हुनु स्वाभाविक हो र क्याथोलिक सम्प्रदायका अनुयायीहरूले सम्राटका विरुद्धमा र पादरी भ्यालेन्टाइनको सम्मान र सम्झनामा यस दिनलाई मनाउनु अस्वाभाविक होइन । 
तर, हाम्रो नेपाली समाजका लागि यो कुनै खास महत्वको दिन, पर्व, संस्कृति केही पनि होइन । अरुले मनाउने कुराको विरोध गर्नुपर्ने विषय पनि होइन । बरु हाम्रो संस्कृतिमा अनेकौँ भिन्नभिन्न नाम र सन्दर्भमा उत्कृष्ट प्रेमका प्रसङ्ग छन् । धार्मिक-पौराणिक साहित्यमा हेर्ने हो भने शिव-सती, शिव-पार्वती, राधा-कृष्ण, सती सावित्री-सत्यवान आदिका अनेकौँ कथा प्रसङ्ग छन् । समाजमा प्रेमिल जोडीहरूबिच विवाह हुन नपाएर दुर्घटनाका समाचार सुनिएको छ । जातीय कारणले प्रेमसम्बन्धले भौतिक हमला बेहोर्नुपरेका अनेकौँ घटना छन् । हामीले यसतर्फ ध्यान दिन सक्दा हाम्रै समाजमा कति सुधार हुन्थ्यो होला ? सिर्जनशील उमेरका नेपाली युवा-युवतीले यसतर्फ ध्यान दिनुपर्ने हो । १७५३ वर्ष अघिको खास धर्म, क्षेत्र, व्यक्तिको जययकारमा लाग्नुभन्दा आजको आफ्नै समाजको सन्दर्भमा ध्यान दिन आवश्यक छ । धर्म, पर्व, संस्कृति, सुधार, अधिकारका लागि लगानी त आफ्नोमा गर्नु पो बुद्धिमानी हुन्छ । 
भ्यालेन्टाइन डे’ हाम्रो परम्परा, पर्व र संस्कृति होइन । जतिजति हाम्रो देशका मानिसहरू मुलुक बाहिर जानुपर्ने अवस्था सिर्जना हुँदै गयो, उतिउति नेपाली समाज, भूगोग, धर्म, संस्कृति, मूल्यमान्यता, पर्व, परम्परासँग कुनै साइनो सम्बन्ध नभएका पर्व, उत्सव, दिवसहरू ऐजुरुका रूपमा पलाउँदै गएको छ । यस्तो ऐजेरुले कुनै दिन मौलिक रुख नै ध्वस्त पार्न सक्दछ । 
‘प्रेम दिवस’ मनाउनु राम्रो कुरा हो । तर यसलाई हेर्ने, बुझ्ने, मनाउने भन्ने सन्दर्भमा भने सबैले हेक्का राख्नैपर्ने हुन्छ । अन्यत्रको प्रकृति, संस्कृति फरक छ । हाम्रो प्रकृति र संस्कृति फरक छ । हाम्रो नै राम्रो बनाउन आफ्नो संस्कृतिको सुन्दर पक्ष के छन् भनेर बुझ्न पर्छ । सुधार गर्न पर्ने भए यहीँकालाई सुधार गर्नुपर्छ । यदि आफ्नो जानिएन भने अरूको हाबी हुन्छ ।  हाम्रा अत्यन्त सुन्दर र मौलिक संस्कृतिलाई बिर्संदैछौं र पाश्चात्य संस्कृतिप्रति मोहित हुँदैछौँ । अरुको संस्कृतिबाट सिक्न हुन्छ र सकिन्छ, तर अरुको संस्कृति बोकेर आफू आफू नै कहाँ रहिन्छ र ? 
शिवरात्रि, कृष्ण जन्माष्टमीका बारेमा पत्तै नपाउनेका जिब्रोमा भ्यालेन्टाइन डे छ । अझ कलेजको त कुरै नगरौं, स्कुलका कलिलो उमेरका केटाकेटी एकअर्काको अँगालोमा बेरिएर हिंँडेका हुन्छन्, अनि कतिपय केटासाथीको हातमा हुन्छ । आधुनिकता र पश्चिमा संस्कृतिको देखासिकीबाट ‘प्रेम’को नाममा यौनजन्य हिंसाहरूमा बढिरहेका छन् । कतिपय युवतीहरू आफ्नै प्रेमीबाट बलात्कृत भएका घटना सार्वजनिक भइरहेका छन् । किशोरीहरू असमय, योजनाविहीन गर्भधारण गर्ने असुरक्षित गर्भपतन गराउन परेका  घटनाहरू पनि सुनिने गरेका छन् । 
प्रेमको नाममा यौनहिंसा र त्यसपछिका दुःखद घटनाहरूबारे खबर आएका छन् । ‘प्रेम’कै बदनाम हुनेगरी समाजमा फैलिएका यस्ता विकृति र दुर्घटनाहरूप्रति समाज सचेत हुन आवश्यक छ । 
‘भ्यालेन्टाइन संस्कृति’ले वर्षेनि लाखौं–करोडौं रुपैयाँको गुलाबको फूल विदेशबाट आयात भइरहेको छ । गुलाबको फूल दिंएर प्रस्ताव राख्दैमा प्रेम पाइने कुरा हो र ? होइन । लहैलहैको प्रेम दिवसमा आफूले राखेको प्रस्ताव नमानेपछि विक्षिप्त युवाहरूले  युवतीहरूको अस्तित्व नै खराब पार्ने उद्देश्यले गरिने एसिड आक्रमणका घटनाबाट जोगिन र जोगाउन आवश्यक छ । यसका लागि अपरिचित, औचित्यहीन हल्लाका पछाडि लाग्नुहुँदैन । 
सात समुद्रपारिको घटनाबाट प्रेरित भएर नभई आफ्नै परिपक्व मन-मस्तिष्कबाट निस्कने र विकसित हुने प्रेम साँचो, सुसंस्कृत र सुरक्षित हुन्छ । प्रमका नाममा अन्यत्रको संस्कृतिको प्रभावमा पर्नु राम्रो होइन ।