नेपालबाट संयुक्त राज्य अमेरिका आप्रवास गराइएका केही भूटानी सरणार्थीहरुले अमेरिका पुगेका केही महिना वा वर्ष मै आत्महत्या गरेका घटनाबाट त्यहाँको स्थनीय सरकार अचम्म भयो । आफैंलाई गोली हानेर आत्महत्या गर्ने अमेरिकी तरिका विपरित सबैजसो घटनाहरु डोरीमा झुण्डिएर भएका थिए । यो अमेरिकीहरुका लागि एकदमै अचम्मको कुरा थियो । आत्महत्या गर्नुका कारण बेचैनी, बेरोजगारी, रिण आदिका कारण खुलाइएका थिए । यसबाट अमेरिकामा एउटा ठूलो बहस नै चल्यो । स्थानीय रैथानेहरु भन्न थाले, किन अरु देशका मानिस यहाँ ल्याउने जो आउनासाथै मरणको बाटो ताक्छन् ?
इश्वि सन् २००६ यता अमेरिकाले करिब ६७००० भुटानी संरणार्थीहरुलाई आफ्नो विभिन्न भूभागमा व्यवस्थापन गरिसकेको छ । आप्रवासीको संख्या बढ्दै जाँदा जीवन–मरणको संख्या बढ्दै जान्छ । त्यसैले, आत्महत्याका त्यस्ता घटनाबाट कतिपनि विचलित नभई अमेरिकी सरकारले आप्रवासको प्रक्रियालाई जारी नै राख्यो ।
आफ्नै भूमिमा बस्न नसक्ने भएर सन् १९९१ यता करिब १०५,००० भूटानी सरणार्थीहरु नेपाल (झापा र मोरङ्ग) मा पलायन भए । तिनै मध्ये अब अधिकासलाई विभिन्न देशहरु जस्तै अमेरिका क्यानाडा, अष्ट्रेलिया, डेनमार्क, नर्वे, न्यूजिलेण्ड र नेदरलेण्डमा व्यवस्थापन गरिएको छ । अब बाँकी रहेकालाई पनि क्रमसः व्यवस्थापन गरिने कार्यक्रम रहेको आप्रवास व्यवस्थापनमा संलग्न निकायहरुलाई बताइसकेका छन् । संयुक्तराज्य अमेरिकाको पोर्टल्याण्डमा बसोवास गर्ने मित्र भट्टराई भन्छन्, “यसो हेर्दा हामीलाई दया गरे जस्तो् देखिन्छ, तर स्थानीय अर्थतन्त्रलाई जीवन्त राख्न हाम्रो भूमिका आवश्यक ठानेर हामीलाई यहाँ ल्याइएको हो ।” हाल कूल जनसंख्या ३१ करोड ३९ लाख भएको अमेरिकाले सन् १९७५ यता भुटान लगायत विभिन्न देशहरुबाट ३० लाख भन्दा बढी सरणार्थीहरु भिञ्याई सकेको छ । यतिले मात्र नपुगी डिभी तथा अन्य कार्यक्रमहरुमार्फत हाल भएको ०.९ प्रतिशत्को जनसंख्या बृध्दिदरलाई अझ घट्न नदिन उ प्रतिबध्द छ ।
केही महिना अघि अमेरिकाका विभिन्न राज्यहरुको भ्रमणमा मैले आप्रवासी भुटानीहरुसंग अन्तरक्रिया गर्ने अवसर पाँए । अमेरिका भरि छरिएका यी आप्रवासीहरु अब क्रमशः सामान्य जीवनयापनमा लाग्न थालेको पांए । तीन वर्ष अघि डल्लास, टेक्सासमा दशैको अवसरमा नेपाली र भुटानीहरु सम्मिलित भएको कार्यक्रममा उनीहरुबीच कुनै घुलमिल नभएको पाएको थिंए । भर्खरै त्यहाँ पुर्याइएका भुटानीहरुको लवाई तथा आचरण लामो समय देखि त्यहाँ वसोबास गर्ने नेपालीहरुको भन्दा बिल्कुलै फरक थियो । लाग्थ्यो, उनीहरु म्ेक्सिको अथवा अन्य दक्षिण अमेरिकी राष्ट्रबाट ल्याइएका हुन् । यो कुरा मैले स्थानीय एक नेपालीलाई सोधेपछि मात्रै उनीहरु झापा, मोरङ्गबाट पुर्याइएका सरर्णार्थीहरु हुन भन्ने कुरा थाहा भयो । यसपल्टको बसाइमा भने टेक्सासमा मैले यस्तो देखिन, भाषा, संस्कृति र इतिहासले विस्तारै दुवै समूहलाई राम्ररी जोडेर लादैछ ।
भर्खरै पुर्याइएका आप्रवासीहरुलाई कसरी बेचैनी तथा खिन्नता आभाष हुन नदिने भनेर केही संस्थाहरु लागिपरेका छन् । उनीहरुकै मौलिक संस्कृति, व्यवसायलाई प्रवध्र्दन गर्नु पर्ने कुरामा यस्ता संस्थाहरुले जोड दिएका छन् । कोलम्बस, यानले ड्राइभमा बसोबास गर्ने करिब ९०० जना भुटानी आप्रवासीहरुका निम्ति टेक्नोलोजी फर पुवर नामक संस्थाले स्थानीय चर्चसंग मिलि उनीहरुलाई नमूना कृषि कार्यमा संलग्न गरेको छ । टेक्नोलोजी फर पुवरका संस्थापक डा। जब एबेन्जर भन्छन्, “युवाहरु बाहिर काम गर्न जान्छन, तर बुढाबूढीहरु आफ्नो पुरानो स्मृतिमा बढी कल्पनाशील हुन्छन । त्यसैले, उनीहरुका निम्ति जमिनका ससाना टुक्रा बाँडिएको छ जस्मा उनीहरु आफूलाई
मनपर्ने किसिमको खेती गर्न सक्छन् ।” साना टुक्रा भएकाले अधिकांशले तरकारी खेती गरी आफ्नो परिवारका निम्ति तरकारी आपूर्ति गरेको पाइयो । ६८ वर्षीय सरस्वति पोखरेल र ७२ वर्षीय मनोरमा पोखरेल काममा व्यस्त देखिन्थे । उनीहरुको एउटै भनाई थियो, “हामी बुढाबूढी भए पनि अलमलिने बाटो पाएका छौं । यसबाट हामीलाई पनि राम्रै भएको छ ।”
कृषि सम्वन्धी यस्तै अनुभवलाई अन्यत्र फैलाउने उद्देश्यले उनीहरुको वासस्थान व्यवस्थापन गर्ने संस्था ‘क्लियर पोइन्ट’ ले समेत भुटानी आप्रवासीहरुलाई सहरी बँगैचा निर्माण कार्यमा संलग्न गरेको छ । सहरमा खाली रहेको जग्गालाई सुन्दरता संगसंगै आय आर्जन हुने खालका कृषि कार्य गर्ने नीति अनुरुप विभिन्न देशका आप्रवासीहरुलाई संलग्न गरिएको छ । “अन्य देशका आप्रवासीहरुको तुलनामा भुटानी आप्रवासीहरुको सीप तथा लगनशिलता अतुलनीय छ ।” क्लियर पोइन्टका प्रबन्धक डिनियल भन्छन । क्लियर पोइन्टकै अनुवादक तथा भुटानी आप्रवासी मोहन आचार्य भन्छन् “सामुहिक खालको काम भएको र यहाँको बसाई तथा कृषिमा गरिएको संलग्नता कारण अधिकांस भुटानी आप्रावासीहरुले यहाँको बसाई भुटानकै जस्तो महसुस गरेका छन् तर, यहाँको बसाईको गुणस्तर, सफाई, सुविधा आदिको भने भुटान वा सिविरसंग कुनै तुलना नै हुन सक्दैन ।”
चाहे साना हुन वा ठूला, यी सबै आप्रवासीको आफ्नै कथा, आफ्नै व्यथा छन् । उमेर पुगेकाहरुले विगत्को अनुभवलाई दाँजेर हेर्ने भएको हुँदा उनीहरुमा बढी पीडा लुकेको पाइन्छ भने युवाहरुमा रोमाञ्चक तथा सम्भावनाका अनुभूतिहरु रहेको पाइन्छ ।
दस वर्ष देखि कमला भट्टराई दुई छोरा सहित अमेरिकाको पश्चिम किनारको पोर्टलेण्ड सहरमा बस्छिन् । उनी भन्छिन, “सुरुमा केही अफ्ठयारो भए तापनि अब ती दिनहरु समाप्त भए । दुइवटै छोराहरुको शिक्षा प्रबन्ध उच्चस्तरीय छ र मेरो काम पनि त्यतिकै राम्रो ।” पुरानो गाडी बेचेर अब ‘ब्रान्ड न्यू’ गाडी किन्ने सोचाइमा रहेकी उनी आफूलाई भने त्यस्तो कुनै कुनै कृषि कार्यमा संलग्न हुने समय नरहेको बताउंछिन । पोर्टलेण्डकै ७८ वर्षीय चमनलाल भन्छन्, “बिस्तारै बानी त लाग्दै जाँदैछ, तर अझै पनि भुटान फर्कन पाए जाति हुन्थ्यो ।” कोलम्वसका ७७ वर्षीय दूर्योधन विश्वको पनि यस्तै विचार छ ।
अमेरिका बसाइ सम्वन्धी युवा र वृध्दहरुको विचार एक समान छैन । युवाहरु सजिलै स्थानीय वातावरणमा अनुकूलन हुन सकेका छन् भने वृध्दहरु अतीतको सम्झनाबाट बढी प्रभावित छन् । अमेरिका जस्तो सुखीसयलको वातावरणमा समेत अनुकूलन हुन नसके तापनि तत्काललाई अर्को विकल्प नभएको कुरा उनीहरु बताउंछन । भुटान तथा नेपालमा आफ्नो कारोबार निकै जमाएका शशिधर अमेरिकामा समेत त्यस्तो वातावरणको खोजीमा छन् । यताको वातावरणमा अनुकूलन हुदै आवश्यक कागज पत्रहरु हतलागे पछि भविश्यमा पुनः नेपाल संभव भए भुटानमा पनि आफ्नो कारोवार गर्ने इच्छा रहेको” उनी बताउंछन् ।
भनाइ नै छ, मानिसको सबैभन्दा ठूलो गुण भनेको वितेको कुरा – पीडा नै किन नहोस्– भुल्न सक्ने क्षमता हो । आफ्नो मातृभूमी गुमाउनु पर्दा तथा शिविरमा नारकीय जीवन बिताँउदाका ती तिक्तताले भरिएका घटनाहरु अब विस्तारै उनीहरुको स्मृतिबाट हरांउदै छ । अमेरिका र विश्वकै विकासमा आप्राभवासी भुटानीहरुको भूमिका नयाँ अन्दाजमा आउन नसक्ला भन्न सकिन्न । समयको अन्तरालसग प्रशस्त संभावना र अवसरको बीचमा रहेका यी आप्रवासीहरुबाट विकासमा ठूलै योगदान समेत हुन सक्छ । यस्को निम्ति उनीहरुलाई शुभकामना !