संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले आतङककादी क्रियाकलापका कारण घाइते र ज्यान गुमाएका व्यक्तिहरुलाई कहिल्यै पनि विर्सन नहुने बताउनुभएको छ ।
यस्ता हिंसात्मक हमलामा परेर ज्यान गुमाएका व्यक्तिलाई विर्सन नहुने तथा यस्ता आक्रमणमा परेर बाँचेका मानिसहरुका आवाज सधैँ सुन्नुपर्ने महासचिव गुटर्रेसले बताउनुभएको हो ।
आतङ्कवादी हमलामा परेर ज्यान गुमाएका र घाइते भइ बाँचेकाहरुको स्मरणमा हरेक वर्ष अगष्ट २१ मा मनाइने अन्तर्राष्ट्रिय दिवसका अवसरमा दिनुभएको एक भिडियो सन्देशमा उहाँले सो कुरा बताउनुभएको हो ।
यस दिन हिंसात्मक हमलामा परेर ज्यान गुमाएका परिवारका सदस्य तथा घाइतेहरुका आवाज सुन्ने र उनीहरुको पिरमर्काहरु सबैले मनन गर्नुपर्ने
उहाँले बताउनुभयो ।
आतङ्ककारी हमलामा परेर बाँचेका मानिसहरुका समस्या सुनेर उनीहरलाई बाँकी जीवनमा ससम्मान बाँच्ने अवसर प्रदान गर्ने र समाजमा उनीहरुको अधिकारको संरक्षण गरी न्याय दिलाउने काममा पनि लाग्नुपर्ने उहाँले बताउनुभएको छ ।
सो सन्देशमा उहाँले विश्वका सरकारहरुलाई यस्तो हिंसामा परेर ज्यान बचाएका व्यक्तिहरुको हक अधिकारको संरक्षण र सम्बद्र्धनका लागि काम गर्न पनि आग्रह गर्नुभएको छ ।
यस्ता व्यक्तिहरुको सम्मानका लागि विश्वका सबै नागरिकले एक भएर काम गर्नुपर्ने भन्दै महासचिव गुटर्रेसले यसका साथै दोषीमाथि कारबाही गर्न र आगामी दिनमा यस्ता हिंसाका घटना हुन नदिनका लागि सबैको सहकार्य आवश्यक रहेको पनि सो सन्देशमा बताउनुभएको छ ।