काठमाडौँ - कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले बलात्कार तथा यौन उत्पीडनका सम्बन्धमा रहेको हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् ।
शुक्रबार जारी प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सहभागी हुने क्रममा उनले बलात्कार तथा यौन उत्पीडनका सम्बन्धमा रहेको हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका हुन् ।
सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट आफू बलात्कारमा परेको घटना एक युवतीले सार्वजनिक गरेको विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै उनले बलात्कार सम्बन्धमा रहेको मौजुदा हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग माग गरेका हुन् ।
यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाबारे पछिल्ला दिनमा सार्वजनिक घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै यसका दोषीलाई कानूनी कारवाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा जारी रहेको छलफलकै क्रममा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सभामुखको ध्यानाकर्षण गराएका थिए।
सांसद थापाको ध्यानाकर्षणका आधारमा सभामुख सापकोटाले यौन हिंसाका दोषीलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।
केही वर्ष पहिले एक युवतीलाई मोडलिङका नाममा यौन हिंसा गरेको भन्ने विषय पीडितले नै सार्वजनिक गरेपछि दोषीलाई कारवाही गर्न माग गरिएको छ ।
दोषीमाथि कारवाहीको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडिसमेत अधिकारकर्मीले आज प्रदर्शन गरेका छन् ।