काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।
स्थानीय निर्वाचनकोसमिक्षा र आगामी निर्वाचनको तयारीका बारेमा छलफल गर्न जेठ ३० गते सचिवालय बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए।
सचिवालय बैठकमा स्थानीय निर्वाचनपछि विभिन्न व्यक्ति र कमिटीबाट आएका रिर्पोटहरुलाई आधार मानेर सचिवालयको बैठकमा छलफल हुने छ। बैठकको तयारीका लागि जेठ २९ गते पार्टी केन्द्रीय कार्यलयको बैठक बस्नेछ। महासचिवको संयोजकत्वमा हुने उक्त बैठकले सचिवालयमा पेश गरिने एजेण्डा तय गर्नेछ।
केन्द्रीय कार्यलय च्यासलमा हुने बैठकमा स्थानीय तहको निर्वाचनमा भएका हारजितको विस्तृत समिक्षा हुनेछ। त्यस्तै पार्टीभित्र असन्तुष्टि बढ्दै जाँदा त्यसको बारेमा पनि गम्भीर समीक्षा हुने सचिवालयका एक नेताले जानकारी दिए। स्थानीय निर्वाचनमा अन्तरघात भए भन्दै अबको बैठकमा अन्तरघात गर्नेको पहिचान र कारबाहीमा केन्द्रीत हुन सक्ने ती नेताको भनाइ छ।
सचिवालय बैठकको भोलिपल्ट पार्टी अनुशासन आयोगको बैठक बोलाइएको छ। अनुशासन आयोगको बैठकले माथिल्लो तहका केही नेतालाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ। देशका विभिन्न स्थानीय तहमा जित्ने आधार हुँदाहुँदै पनि हार्नु आफ्नै पार्टी भित्रको अन्तरघातलाई कारण मानिएको छ।