images
images

साझा सिकाइको पहिलो अनुभव र समृद्ध कर्णालीको यात्रा 

नेपालको वर्तमान राजनीतिमा एकातिर वैचारिक, सैद्धान्तिक, सङ्गठनात्मक गतिविधिको ठाउँमा प्रोपोगन्डा, तात्कालिक मुद्दा बोकेको प्रियतावाद(पपुलिज्म)को उठानले महत्व पाएको देखिँदैछ । अर्कोतिर दिने वा अराजकता र भीडतन्त्रको राजनीति पनि उत्तिकै हाबी रहेको छ । यो वा त्यो ढङ्गले आज राज्य सञ्चालनको नीति—नियमका र न्यायकर्ता वा दाता यी सबै कुराको जाँचकी भीडतन्त्र भइरहेको छ । यो भीड सिवाय अरु कसैले सही दिशा दिन सक्दैन, विचार—सिद्धान्तको मृत्यु भइसक्यो, भीडमा आएका कुरा मात्रै सत्य हो भन्ने जस्ता अफवाह फैलाउने र आमनेपाली जनतालाई यो भीडतन्त्रप्रति आकर्षित गर्ने विभिन्न सामाजिक सञ्जाल मार्फत भाइरल बनाउने काम भइरहेको छ  ।

 

यसरी हाम्रो समाज आज आफ्नो सही दृष्टिकोण के हो ? हाम्रो गन्तव्य कहाँसम्म हो ? कार्यदिशा के हो ? यसमा आएका अवरोधहरू के हुन् ? यस्ता सवालहरूको उत्तर खोज्ने काम त छँदैछ र पनि थुप्रै सङ्गठित व्यक्तिहरू समेत अहिलेको भीडतन्त्रप्रति आकर्षित भएको देखिन्छ । यसमा हाम्रो पार्टी सङ्गठनमा लामो समय लागेर विभिन्न जिम्मेवारी समेत वहन गरेका कतिपय व्यक्तिहरू पार्टीले लिएको लक्ष्य, उद्देश्य, मार्ग निर्देशित लाइनभन्दा तात्कालिक प्रोपोगन्डाको राजनीतितर्फ आकर्षित भएको र होमा होको चोचोमोचो मिलाएको देखेको र सुनेको छु । मलाई लाग्छ, यो समस्या जुम्लाको मात्रै नभएर देशैभरिको रोग हुन सक्छ ।

 

यिनै घटनालाई मध्यनजर गर्दै मैले हाम्रो पार्टीका नेताहरूसँग पार्टी कमिटीको हरेक बैठकमा सही दिशा पहिल्याउन, सुदृढ सङ्गठन, अडानी नेता कार्यकर्ता निर्माण गर्न प्रशिक्षण राख्नुपर्ने र निरन्तरता दिनुपर्ने कुरा उठाउँथेँ, मिसन ग्रासरुटमा जुम्लामा केन्द्रीय प्रतिनिधिको रूपमा  खटिएर आउनुभएका नेताहरू, खासगरी नेकपा एमाले केन्द्रीय कमिटी सदस्य कमरेड बिष्णु रिजाललाई भनिरहेको थिएँ । 

 

म २०६४ बाट राजनीतिमा जोडिएको हुँ । तर पनि औपचारिक रूपमा मेरो राजनीतिक जीवन २०६७ सालबाट अनेरास्ववियुमा जोडिएर एमालेका गतिविधिलाई नजिकबाट हेर्ने र पार्टी कमिटीमा समेत रहेर काम गर्ने अवसर पाइरहेको छु । यस दशकको अवधिमा समेत मैले नेकपा एमालेको बारेमा औपचारिक प्रशिक्षण, पार्टीको सैद्धान्तिक राजनीतिक घटनाक्रम र सङ्गठनात्मक ज्ञान लिन सकिनँ, त्यस्तो व्यवस्था हुन सकेन । 

 

मिसन ग्रासरुटबाट बिष्णु रिजाल कमरेडसँग सामाजिक संजालमा जोडिएकै कारणले एक साझ उहाँको फेसबुक वालमा कर्णाली प्रदेश कमिटीको आयोजनामा प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमबारे सूचना पाएँ । तत्काल म्यासेन्जर मार्फत सम्पर्क गरेँ, कार्यक्रमबारे बुझेँ । जिल्ला कमिटीले सिफारिस गरेका एक जना, जिल्लाबाट स्कुल विभाग प्रमुख सहित तीन जनालाई समावेश गर्ने रहेछ । सोचेँ, यस  कार्यक्रममा पनि अटाउँदिन होला ! पार्टी कमिटीमा पदिय हिसाबले मभन्दा सिनियर कमरेडहरू धेरै हुनुहुन्छ,  तर पनि अध्यक्ष कमरेडसँग कुरा गर्नुपर्ला भन्ने सोचेको थिएँ । संयोग नै भनौँ, अध्यक्ष आफैले भन्नुभयो, ‘यो कार्यक्रममा सहभागी हुने हो त ?’ जे खोजेको थिएँ, त्यही पाएँ  । पार्टी बैठकमा समेत म लगायत अन्य साथीहरूले प्रशिक्षणमा सहभागी हुन चाहनेले नाम टिपाइयो । अब फेरि परिँदैन कि जस्तो लागेको थियो । केही दिनपछि पार्टी उपाध्यक्षको नेतृत्वमा सहभागी हुने खबर प्राप्त भयो । यस जानकारीले राजनीतिक जीवनमा ठुलै उपलब्धि हासिल गरे जस्तो भयो ।
\

सुर्खेत पुग्ने बित्तिकै ‘जिल्लाबाट हामी आइपुग्यौँ’ भनेर नेता विष्णु रिजालसँग सम्पर्क गरेर जानकारी गरियो ।  पार्टी स्कुल विभागद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रम पूर्वनिर्धारित समय २०८० असार २७–३१ मा जिल्लाबाट उपाध्यक्ष कमरेडको नेतृत्वमा जुम्ला जिल्लाको टिमले सहभागिता जनायो ।  

 

बिहानीको नित्यकर्म सकेर मनमा उत्साह, जोश र जाँगर बोकेर उत्सुकतासाथ कार्यक्रम स्थलतर्फ लागियो । त्यहाँ पुग्दा सबै जसो हलमा सहभागीहरू भरिसकेको अवस्था थियो । तोकिएको शुल्क तिर्दै आआफ्नो नामदर्ता गर्दै र सामाग्रीहरू बुझ्दै आआफ्नो सिटमा बस्ने काम भयो । औपचारिक कार्यक्रम सुरु भयो । हाम्रा अतिथि कमरेडहरूले कार्यक्रम सफलता र शुभकामना सहितको मन्तव्य राख्नुभयो । करिब साढे एक घण्टाको औपचारिक कार्यक्रम समापन लगत्तै प्रशिक्षणको कार्यक्रम अगाडि बढ्यो । औपचारिक कार्यक्रम सकिनासाथ प्रशिक्षणमा सहभागी प्रशिक्षक र प्रशिक्षार्थी बाहेक औपचारिक कार्यक्रममा सहभागी हुनु भएका सबैलाई हलबाट विदाई गर्दै बाँकी प्रशिक्षार्थीको जिम्मेवारी पूरा गर्नेतर्फ हामी अगाडि बढ्यौँ ।

 

सुरुआतमै लिखित परीक्षा लिने प्रावधान रहेछ । मनमा अलिअलि डर लागिरहेको थियो, अधिकांश पार्टी अध्यक्ष, उपाध्यक्ष, उपसचिव, प्रदेश कमिटी सदस्य , जिल्ला कमिटीका पनि सचिवालय सदस्यहरू उपस्थित हुनुहुन्थ्यो । सहभागीको रूपमा आफू जिल्ला कमिटी पो परियो फेल भइन्छ कि, अरु भन्दा म कमजोर छु, पदीय हिसाबले नै उहाँहरू धेरै जानेबुझेको म नजानेको जस्तो महसुस भइरहेको थियो । त्यसैले पनि परीक्षा भनेपछि डर पैदा भएको थियो । खैर, परिक्षा दिएँ, सबै प्रश्नको उत्तर सजिलै लेखेँ, किन भने मैले अध्ययन गरेकै, जाने बुझेकै विषय वस्तुहरू समावेश गरिएका थिए । त्यसपछि भने आत्मबल बलियो हुँदै आयो ।

 

प्रत्यक्ष रूपमा भेटघाट नभएको, राजनीतिक हिसाबले पनि कुन के दलसँग सम्बन्धित हो भन्ने पनि थाहा नभएको तर विगत केही समय पहिलेदेखि सामाजिक सञ्जालमा धर्म, संस्कृति, चाडपर्व र माक्र्सवाद आदि बारेमा लेखिरहनुहुने र सामाजिक सञ्जालमा बेलाबखत कुरा हुने घनश्याम कोइरालालाई कहीँ देखे—भेटे जस्तो लाग्ने मान्छे प्रशिक्षकको रूपमा देख्न पाएको थिएँ, उहाँ त हाम्रो पार्टी नेकपा एमाले केन्द्रीय पार्टी स्कुल विभागको सचिव हुनुहँुदो रहेछ । यसबाट म साह्रै खुसी भएँ । 

 

त्यस्तै, अर्थशास्त्रको बारेमा सामाजिक सञ्जालमै कुराकानी हुने बद्री खनाल, विवेकशील साझा पार्टीमै हुने बेलादेखि चिनेको, विभिन्न लेखरचनाहरूको अध्ययन गर्ने क्रममै सामाजिक सञ्जाल मार्फत चिनेको र केही दिनअघि मात्रै मिसन ग्रासरुटमा जुम्ला आउँदा औपचारिक चिनजान गरेको गेहेन्द्र दाहाल, मिसन ग्रासरुट अभियानबाटै नजिकबाट चिनजान भएको र सधै अब केही गर्नुपर्छ भनी हौसला दिनुहुने दाजु बिष्णु रिजाललाई प्रशिक्षकको रूपमा देखेपछि मेरो मनमा रहेको डर, त्रास र अपरिचितहरू सँगको सिकाइ कस्तो होला भन्ने कौतुहलता समेत हरायो, अलिकति रहेको डर समेत भागेको थियो ।

 

विभिन्न पुस्तक किनेर स्वअध्यन गर्दै, नेताहरूसँग अनौपचारिक गफगाफ, नेताहरूका भाषण आदिबाट कम्युनिष्टबारे सिक्दै आएको मान्छेले पहिलो पटक औपचारिक रूपमा कम्युनिष्ट पार्टी र त्यसको स्कुलिङबारे सिकाइको कक्षामा सहभागी हुँदा असाध्यै खुसी महसुस गर्नुका साथै पूर्ण उत्साहसाथ सबै कक्षामा सहभागी जनाएँ । पाँच दिनको प्रशिक्षण । ओहो, पाँच दिनसम्म यहाँ त टिक्न सकिन्न कि क्या हो जस्तो लागेको थियो । तर, त्यसपछि त्यस्तो महसुस नै भएन, पाँच दिन कति सजिलै सकियो, थाहै भएन । मलाई प्रशिक्षण अवधिकै सबैभन्दा राम्रो पक्ष भनेको प्रशिक्षण हुनु अगावै र अन्तिम दिनको अन्त्यमा परीक्षा लिने र उत्कृष्ट छनोट गर्ने विधि असाध्यै मन परेको थियो ।

 

यो पाँच  दिनको अवधिमा नेकपा एमालेका नेता केन्द्रीय कमिटी उपमहासचिव प्रदीप ज्ञवालीले सामाजिक रूपान्तरण र माक्र्सवादी दर्शन तथा  पार्टीको दसौँ महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशाबारे प्रशिक्षित गर्नुभएको थियो । उहाँको कक्षाले दर्शनमा रुचि भएका जो कोहीलाई पनि आकर्षित गरेको थियो । उहाँको प्रस्तुति शैली साह्रै सरल र प्रभावकारी थियो । समाजका हरेक विषयवस्तुलाई, दर्शनका नियमहरूलाई व्याख्या विश्लेषण गर्नुका साथै आफ्नो दृष्टिकोण बनाउने र हामीले बनाएको दृष्टिकोणले वर्गीय पक्षधरता समेत झल्कने जस्ता कुरा, प्राकृतिक र सामाजिक नियम, विज्ञान र धर्म, दर्शन वर्ग र वर्गसङ्घर्ष आदि विषय छलफलका विषय रहेका थिए ।

 

यो प्रशिक्षण १४ वटा कक्षामा भएको थियो । नेकपा एमाले केन्द्रीय कमिटी सचिव लेखराज भट्टले नेपालका अन्य राजनीतिक र पार्टीहरूको तुलनात्मक अध्ययन प्रस्तुत गर्नु भएको थियो । नेकपा एमाले स्थायी कमिटी सदस्य यमलाल कँडेलले समृद्ध कर्णालीको अवधारणा प्रस्तुत गर्नुभएको थियो । यस प्रस्तुतिमाथि सहभागीहरूले छ वटा समूहमा बाँडिएर सघन छलफल चलाएका थियौँ । सुर्खेतमा पार्टी इञ्चार्ज रहनुभएका नेता गोरख बोगटीले कर्णालीमा कम्युनिस्ट आन्दोलनको विगत, वर्तमान तथा भविष्यमाथि छलफलका लागि अवधारणा प्रस्तुत गर्नु भएको थियो । 

 

केन्द्रीय पार्टी स्कुल विभाग सचिव घनश्याम कोइरालाले कम्युनिस्ट जीवन शैली, कार्यशैली, सङ्गठन र सदाचार बारेको कक्षामा हाम्रो जीवन शैली, जनशैली, कार्यशैली र हाम्रो व्यवहारबारे विषय प्रस्तुत गर्नुभएको थियो । ती प्रस्तुतिमा आफैले आफैलाई प्रश्न गर्ने गरी कक्षा सञ्चालन गर्नुभएको थियो । उहाँले प्रशिक्षार्थीहरूलाई जागरुक बनाउने, अध्ययनप्रति रुचि जगाउने, बोल्ने कलाकौशल अभिवद्धि गराउने काम गरेर सबैलाई सिकाईप्रति निरन्तर आकर्षित गराइरहनु भएको थियो । उहाँको प्रस्तुति मानिसको निजी जीवनका लागि समेत उपयोगी र प्रभावकारी थियो । 

 

केन्द्रीय कमिटी सदस्य विष्णु रिजाल जनताको बहुदलीय जनवादको विकासक्रम, लक्ष्मण ज्ञवालीले नेपालको इतिहास, नेपाली समाजको चरित्रबारे प्रशिक्षण दिनुभएको थियो ।  पार्टी स्कुल विभाग सदस्य बद्रि खनालले राजनीतिक अर्थशास्त्र, वाईपी आचार्यले सूचना प्रविधि: र गेहेन्द्र दाहालले माक्र्सवादी अर्थशास्त्र, कार्यलय व्यवस्थापन, लेखापरिक्षण, अहिलेको भूमण्डलीकृत पुँजीवादले विज्ञान र प्रविधिको प्रयोग गरेर कसरी सफलता हासिल गरेको छ, प्रविधिको चरम विकासको उत्सर्गमा पनि वर्गसङ्घर्ष जारी रहन्छ र नेतृत्व विकास कसरी हुन्छ, नेता र नेतृत्वमा फरक के छ ? नेता र नेतृत्वका गुणहरू के के हुन् ? आदि जस्ता विषयमा गम्भीर छलफल भएको थियो । अन्त्यमा यही प्रशिक्षणपछि जिल्ला जिल्लामा प्रशिक्षण कार्यक्रमबारे कार्यतालिका निर्माण गरी प्रमाणपत्र वितरण र ग्रहण गर्दै समापन भएको थियो ।

 

मैले जेसम्म कल्पना गरेर सुर्खेतसम्म पुगेको थिएँ, त्यसभन्दा धेरै गुणा सिक्ने अवसर प्राप्त गरे ज्ञानको दायरालाई, अध्ययनको दायरालाई, दृष्टिकोण निर्माणको दायरालाई फराकिलो ढङ्गले अध्यन गर्ने कुरामा जानकार हुन पाएँ । नेता र नेतृत्वले निर्वाह गर्ने भूमिका जीवन शैली, कार्यशैली, जनशैली वर्गसङ्घर्षको बारेमा बुझ्ने अवसर प्राप्त गरेँ । यो प्रशिक्षण कार्यक्रम एकदमै छोटो भएको, अझ छलफललाई बृहत् बनाउन नसकिएको जस्तो लागेको छ । हाम्रो सैद्धान्तिक धरातल खस्कँदो अवस्थामा रहेको सहभागीहरूको प्रस्तुति र शैलीले  झल्काउँथ्यो, कर्मकाण्ड पूरा गरियो भन्ने उद्देश्यको मात्रै प्रशिक्षण नहोस्, सबैले यसलाई सदुपयोग गर्दै यहाँ सिकेका कुरा जिल्ला जिल्लामा ज्ञान बाँड्ने कामको थालनी होस् भन्ने चाहन्छु ।

 

हामी सहभागी नेताहरू मात्रै हौँ, तर कताकता अनुशासनमा, दृढ इच्छा शक्तिमा हामी तलबितल भएको, मसिनो ढङ्गबाट उठाइएका विषयवस्तुहरूलाई सोही ढङ्गले बुझ्नमा हेलचेक्राइँ गरिरहेको जस्तो अनुभूति भइरहेको थियो । हामीले जे सिकिरहेका थियौँ, जुन दर्शनको अध्ययन गरिरहेका थियौँ, जुन जीनशैली र कार्यशैलीको बहस गरेका थियौँ, नेता र नेतृत्वको गुणको बारेमा जति छलफल भएको थियो, विज्ञान र प्रविधिको बढीभन्दा बढी प्रयोग गरेर पार्टीका गतिविधि जनताको बिचमा लैजाने भन्ने ज्ञान सिकेका थियाँै । मैले यो अनुभूति लेखिरहँदा सम्म जुन ढङ्गले हाम्रा गतिविधि बढ्नुपर्ने हो खासै त्यसरी नै बढेको देखेको छैन, हाम्रो समस्या भनेकै जान्ने हो आफै मात्र जान्ने हो भने जस्तो भइरहेको छ । ज्ञान जति बाँड्यो उति बढ्छ भन्ने कुरा सोचेको भए राम्रै हुन्थ्यो ।

 

कार्यक्रम सकिएपछि पहिलो पल्ट मोटरसाइकलको यात्रामा सुर्खेतदेखि जुम्ला सम्मको यात्रामा अघि बढियो । दिनभर पानीले दुख दियो, कर्णाली राजमार्ग भनुँ या मृत्युु मार्ग, प्रत्यक्ष रूपमा अवलोकन गर्ने अवसर मिल्यो, कर्णालीका परिश्रमी जनताको पसिनाको सुगन्ध बगे जसरी कलल बगेको कर्णाली नदीको तिरैतिर पानीमा भिज्दै यात्रा गरियो ।

 

कर्णाली राजमार्ग ठाउँ ठाउँमा अवरोध भएको थियो । केही ठाउँमा आँखै अगाडि पहिरो आएर हाम्रो यात्रालाई अवरोध गरेको थियो । साँघुरो अव्यवस्थित सडक, सडक छेउमै जोखिम मोलेर बसेका बस्तीहरूबिच विकासलाई निमन्त्रणा गर्दै बसेको भुगोल, सङ्गै कर्णाली र तिला नदीले भनिरहेको थियो, मलाई प्रयोग गरेर झलमल बिजुली उत्पादन गर । ठुल्ठुला उद्योग खोल । विश्व बजारमा प्रतिस्पर्धा गर । यहाँको जल, जङ्गल, जमिन, जडिबुटी, पर्यटन र जनशक्तिको प्रयोग र विकास गरेर विश्वमा गरिबीको मानचित्रमा, बिकटताको, अभाव, रोग भोगको, अशिक्षा, पछौटेपनको मानचित्रमा होइन, विश्वका तमाम गरिबीको रेखामुनि रहेर अभाव र पीडाको जीवन गुजारिरहेका मानिसलाई सहायताको हात लिएर अघि बढ्न सक्ने कर्णाली प्रदेशले अरुबाट अब सम्भव छैन । कर्णाली नेकपा एमालेभित्र सक्षम नेतृत्वको खोजी गरिरहेको छ, त्यो एमाले नेतृत्वको अवसरको पर्खाइमा छ भन्ने सन्देश यो  यात्रामा कर्णालीको भूगोलले भनिरहेको थियो । आशा छ, यो प्रशिक्षणको उपलब्धि कर्णालीमा सूर्यको किरण बनेर उदाउने छ । समृद्ध कर्णाली, सुखी कर्णालीवासी हाम्रै पालामा हाम्रै अगुवाइमा बन्नेछ ।